News Griha :: न्यूजगृह
मोरङमा घरमा मृत भेटिए ससुरा, ज्वाइँ फरार

विराटनगर— मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा भेटिएका छन्। पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो।

प्रहरीका अनुसार शनिबार बिहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको हो। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ।

घरमा चन्द्रबहादुर र उनको ज्वाइँ अन्दाजी २५ वर्षीय रविन राई बस्दै आएका थिए। घटनापछि रविन फरार छन्।चन्द्रबहादुरकी श्रीमती र छोरी (रविनकी पत्नी) वैदेशिक रोजगारीमा छन्। घरमा भने ज्वाइँ ससुरा मात्रै बस्दै आएका थिए। रविनको घर पनि ससुरालीको छेउमै छ।

प्रहरीका अनुसार शुक्रबार राति घरमै मदिरा सेवनपछि ज्वाइँ ससुराबीच विवाद भएको थियो। बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १५:२२
Weather Update