
दाङ— नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्विकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु उचित नभएको बताएका छन्।
दाङमा शनिबार पत्रकारसँग महासचिव पोख्रेलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरि लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन्।
‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरि आफ्ना भनाइ राख्न थाले,’ उनले भने, ‘सहकारीको रकम असुरक्षित गर्नेहरूलाई दण्डित गरिनुपर्छ । सहकारीको सदस्य नरहेका व्यक्ति र कम्पनीलाई लगानी गर्न मिल्दैन, अनुचित तरिकाबाट लगानी भित्र्याएको पुष्टि भयो, विना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हो, विना लगानी शेयर प्राप्त गर्ने कुरा अनुचित कार्य हो।’