News Griha :: न्यूजगृह
न्युयोर्कमा ओली–मोदी साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुने
फाइल तस्बिर।

काठमाडौं— अन्ततः न्युयोर्कमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ७९ औं संयुक्त राष्ट्रसङ्घको महासभाको दौरान द्विपक्षीय साइडलाइनमा भेटवार्ता हुने तय भएको छ।

भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा साइडलाइनमा द्विपक्षीय भेटवार्ताको लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँ दिल्लीको तर्फबाट सकारात्मक जवाफ आइसकेको थिएन।

तर नेपालका प्रधानमन्त्री ओली न्युयोर्कमा शुक्रबार राति उत्रनु केही घण्टाअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार गरेको सन्देश दिएको हो।

परराष्ट्र स्रोतका अनुसार लामो समयदेखि साइडलाइनमा भेटवार्ताको लागि गृहकार्य भए पनि भारतीय पक्षबाट दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने सक्ने सन्देश शुक्रबार प्राप्त भएको हो। स्थानीय समयअनुसार आइतबार ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुनेछ। ‘अन्यथा केही नभएमा भेटवार्ता हुने पक्का भएको हो,’ स्रोतले भन्यो।

चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुनेछ। मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले त्यसको लागि आवश्यक गृहकार्य पनि गरेको छ।

भदौ २५ बाट महासभा सुरु भइसकेको छ। महासभाको उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्ने छ। नेपालको २२ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली न्युयोर्क पुगिसकेका छन्।

यसपटक असोज ७ र ८ मा भने राष्ट्रसङ्घकै आयोजनामा ‘समिट अफ द फ्युचर’ कार्यक्रम छ। त्यसमा पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसको लागि शुक्रबारबाट भने समिट अफ द फ्युचरको एक्सन डे सुरु भइसकेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०८:३९
Weather Update