News Griha :: न्यूजगृह
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने प्रहरीको तयारी

काठमाडौं— पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने भएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीलाई भनेको छ।

संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई ‘मौखिक निर्देशन’ दिइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पनि संलग्न रहेको भन्दै पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका हुन्। सो उजुरीको आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ। समितिले संसद्मा बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेको छ।

समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालकहरू अध्यक्ष गितेद्रबावु (जीबी)राई, सदस्य कुमार रम्तेल तथा प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध मुद्दा चल्ने भएको छ।

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेका थिए। अहिले उनी मुद्दा पुर्पक्षका लागि थुनामा छन्। सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा यसअघि नै अदालतमा मुद्दा दर्ता भइसकेको छ। थप अनुसन्धान गर्दा रकम हिनामिनामा संलग्न देखिएकाहरूलाई पूरक अभियोग लैजान मिल्ने कानुनी व्यवस्था छ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्। सूर्यदर्शन सहकारीका संचालकहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९ सय ७१ जनाले रकम हिनामिना गरेको भन्दै जाहेरी दिएका थिए। सहकारीका पूर्वअध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ। उनी अहिले फरार छन्। सूर्यदर्शनको १ अर्ब ८ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १९:१४
विचार/ब्लग
Weather Update