News Griha :: न्यूजगृह
मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु

मध्यविन्दु (नवलपरासी)— शहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ। मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो। 

नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गीकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताए।

उनका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन सुरु गरिएको हो। फोहरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताए।

दिगो रुपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उनले उल्लेख गरे। 

गत वर्षदेखि नगरपालिकाले फोहर व्यवस्थापनको काम सुरु गरेको हो। फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपायको खोजी गर्ने क्रममा जैविक मल उत्पादन सही विकल्प देखिएको नगरप्रमुख अधिकारीले बताए। 

फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगर कार्यालयले जनाएको छ। मध्यविन्दु नगरपालिकाको पाँच वटा वडाबाट सुरु गरेको फोहर सङ्कलन हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिए।

सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाले छुट्टै इकाई स्थापना गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए। क्रमशः शहरीकरणको सुरुको चरणमा रहेको मध्यविन्दुमा अहिलेदेखि फोहरमैला व्यवस्थापन थालिएकाले यो कार्यले भविष्यमा हुनसक्ने सम्भाव्य समस्यालाई कम गर्नेमा उनले विश्वास व्यक्त गरे।

उत्पादित जैविक मलमा आवश्यक तत्व रहे/नरहेको प्रयोगशालामा नियमित परीक्षण हुने छ। हालसम्म फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको स्थापनामा कुल चार करोड ३७ लाख ९८ हजार तीन सय ७४ खर्च भएको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रका संयोजक इञ्जिनियर विवेक पोखरेलले बताए।

फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना भएसँगै फोहर व्यवस्थापन, रोजगारी सिर्जना, छाडाचौपाया व्यवस्थापन, जैविक मल उत्पादनलाई जोड्ने काम भइरहेको नगरप्रमुख अधिकारीले बताए। योसँगै उत्पादित जैविक मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्यानिक उत्पादनलाई सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:४१
विचार/ब्लग
Weather Update