News Griha :: न्यूजगृह
पेजर, वाकीटकी विस्फोट: मोबाइल फोन कति सुरक्षित ? 

काठमाडौं— इजरायली गुप्तचर निकाय र सेनाले हिजबुल्लाह लक्षित आक्रमणका लागि पेजर र वाकीटकी प्रयोग गरेको छ। मङ्गलबार र बुधबार भएका विस्फोटमा कम्तीमा ३७ जनाको ज्यान गइसकेको छ भने ३ हजार ७ सयभन्दा बढी घाइते भएका छन्।

हिजबुल्लाह समूहका सदस्यले एकआपसमा सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा मङ्गलबार १२ जनाको मृत्यु हुनुका साथै ३ हजारभन्दा बढी घाइते भएका थिए। ज्यान गुमाउनेमा हिजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरीसमेत छन्। एउटा विस्फोटमा बेरुतमा कार्यरत इरानी राजदूत पनि घाइते भएका थिए।

बीबीसीका अनुसार स्थानीय समयअनुसार मङ्गलबार पौने ४ बजेदेखि लेबनानका विभिन्न स्थानमा ती उपकरणहरू पड्कन थालेका थिए। प्रत्यक्षदर्शीका अनुसार पहिले मानिसको गोजीबाट धूवाँ निस्कन थाल्यो र लगत्तै विस्फोटहरू भए। विस्फोटका क्रममा पटाका पड्केको वा गोली चलेको जस्तो आवाज निस्किएको थियो।

इजरायलले स्थान पत्ता लगाउन नसक्ने गरी सञ्चार गर्न हिजबुल्लाहले पेजर प्रयोग गर्दै आएको छ। पेजर विस्फोटको भोलिपल्ट अर्थात् बुधबार भने हिजबुल्लाह समूहका सदस्यहरूले प्रयोग गर्ने वाकीटकी विस्फोट भए। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटमा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन्। दर्जनौं स्थानमा भएका विस्फोटमा कम्तीमा ७ सय जना घाइते भएको जनाइएको छ। विस्फोटको जिम्मा हालसम्म कसैले पनि लिएको छैन।

लेबनानका प्रधानमन्त्री नजिब मिकाती र हिजबुल्लाहले घटनाका लागि इजरायल जिम्मेवार रहेको बताएका छन्। प्रधानमन्त्री नजिबले उक्त घटना लेबनानको सार्वभौमसत्तामाथिकै आक्रमण भएको र त्यो जघन्य अपराध भएको बताएका छन्।

हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै ‘सर्वसाधारणहरूले समेत ज्यान गुमाएको आपराधिक कार्यका लागि इजरायल पूर्ण रूपमा जिम्मेवार रहेको’ जनाएको छ। ‘देशद्रोही र आपराधिक शत्रुलाई सजाय दिइनेछ,’ हिजबुल्लाहले भनेको छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न प्रतिवेदन सार्वजनिक गर्दै उक्त आक्रमण इजरायली गुप्तचर निकाय ‘मोसाद’ र इजरायली सेना (आईडीएफ) ले गरेको जनाएका छन्। कतिपय विज्ञहरू पनि घटनाको पछाडि इजरायलको हात रहेकामा सहमत देखिन्छन्।

‘हामीलाई थाहा छ कि इजरायलले आक्रमण गर्न प्रविधिको प्रयोग गरिरहेको छ। तर, यस्तो आक्रमण यसअघि कहिल्यै भएको थिएन,’ बेलायतको ल्यान्कास्टर युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक साइमन मेबानले बीबीसीसँग भनेका छन्। घटनाबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन। तर, इजरायली रक्षामन्त्री योआभ गलान्टले ‘नयाँ चरणको युद्ध सुरु भएको’ बताएका छन्।

एकैसाथ विभिन्न स्थानमा पेजर तथा वाकीटकीहरू कसरी विस्फोट भए वा गराइए भन्नेबारे अहिलेसम्म खुलेको छैन। यसबारे विज्ञहरूसमेत आश्चर्यमा परेका छन्। केही विज्ञले भने पेजरलाई ह्याक गरी ब्याट्री धेरै तताइदिएको अनुमान गर्छन्। जसका कारण पेजर फुटेको (विस्फोट भएको) अनुमान गरिएको छ। विस्फोट हुनुअघि ती पेजरहरू निकै तातेका थिए। पेजरमा प्रयोग हुने लिथिअम ब्याट्री धेरै तात्दा आगलागी हुन सक्छ। तर पेजर ह्याक गरेर त्यसलाई धेरै तातो बनाइए पनि ती विस्फोट नहुने विज्ञहरू बताउँछन्।

एक विस्फोटक पदार्थ विज्ञले वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा भने पेजर निर्माण गर्ने बेलामा नै १० ग्राम वा २० ग्राम सैन्य प्रयोजनको अतिविस्फोटक पदार्थ ती साधनमा राखिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। केहीले भने पेजर निर्माणका क्रममा गल्ती भएको हुन सक्ने अनुमान गरेका छन्।

बेलायती सेनासँग सम्बद्ध एक विज्ञले बीबीसीसँग ‘विस्फोट भएका पेजरहरूमा उच्च गुणस्तरको विस्फोटक पदार्थ गोप्य रूपमा राखिएको हुन सक्ने’ बताएका छन्। त्यस्तो सामग्री अल्फान्युमेरिक खालको सन्देशमार्फत विस्फोट गराइएको हुन सक्ने उनको अनुमान छ।

ताइवानी कम्पनी ‘गोल्ड अपोलो’ ले बनाएका पेजर केही समयअघि मात्र हेजबुल्लाहलाई आपूर्ति गरिएको थियो। कम्पनीका संस्थापक सु चिङ–क्वाङले आक्रमणसँग आफ्नो कम्पनीको कुनै सम्बन्ध नभएको स्पष्ट पारेका छन्  उनले हंगेरीको बीएसी कन्सल्टिङ कम्पनीले उत्पादन गर्ने पेजरमा गोल्ड अपोलो नाम प्रयोग गर्नका लागि ट्रेडमार्क इजाजतपत्र दिएको समेत बताएका छन्।

‘यदि तपाईंले लेबनानका तस्बिरहरू हेर्नुहुन्छ भने विस्फोट भएका पेजरहरूमा ताइवानमा निर्मित लेखिएको छैन। हामीले त्यस्ता पेजर बनाएका होइनौं,’ उनले भनेका छन्। आफ्नो कम्पनीले बीएसी कन्सल्टिङ कम्पनीसँग तीन वर्षअघि सम्झौता गरेको र ती पेजरहरू उक्त कम्पनीले बनाएको सुको दाबी छ। सुरुमा उक्त कम्पनीले गोल्ड अपोलोले बनाएका पेजर युरोपमा बेच्नका लागि प्रस्ताव गरेको भए पनि पछि ट्रेडमार्क सम्झौता भएको बताए।

त्यस्तै, बुधबार लेबनानमा विस्फोट भएका वाकीटकी जापानी निर्माण कम्पनी ‘आइकम’ का ‘आईसी–भी ८२’ हुन् । तर कम्पनीले एक दशकअघि नै ती उपकरणको निर्माण बन्द गरिसकेको जनाएको छ। बीबीसीका अनुसार आइकमले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ। ‘२००४ देखि २०१४ सम्म आईसी–भी ८२ को उत्पादन तथा आपूर्ति भएको हो। त्यसपछि कुनै पनि त्यस्ता उपकरण कम्पनीले आपूर्ति गरेको छैन,’ आइकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। लेबनानी सञ्चारमाध्यमले बुधबार विस्फोट भएका ‘आईसी–भी ८२’ वाकीटकीहरू पुराना भएको जनाएका छन्।

पेजर होस् वा वाकीटकी यी सबै सञ्चारका लागि प्रयोग हुने वायरलेस उपकरण हुन्। यसअघि यस्ता कुनै घटना सार्वजनिक भएका थिएनन्। जसका कारण पछिल्ला आक्रमणले वायरलेस सञ्चार उपकरण प्रयोगकर्ताको सुरक्षाका विषयमा चासो उत्पन्न भएको छ। खासगरी यस्ता उपकरण विस्फोट गराउनका लागि भने सफ्टवेयर ह्याक गरी तताउनुपर्छ।

पेजर, वाकीटकी तथा मोबाइल फोनमा प्रयोग हुने लिथियम ब्याट्री धेरै तातेको खण्डमा आगलागी वा विस्फोट हुन सक्छ। तर, त्यस्तो विस्फोट लेबनानमा देखिएजस्तो घातक हुने सम्भावना भने निकै कम छ। त्यसमाथि त्यस्ता ब्याट्री तातेर पड्कन वा आगलागी हुन ५९० डिग्री सेल्सियस तापक्रममा पुग्नुपर्छ।

यसअघि इजरायलले मोबाइल फोनको प्रयोग गरी सन् १९९६ मा हमासका बम निर्माता याह्या अय्यासको हत्या गरेको थियो। उनको हत्या गर्न विस्फोट गराइएको मोबाइलमा ५० ग्राम विस्फोटक पदार्थ भएको बताइएको थियो। यस अर्थमा लेबनानी मिडियाले दाबी गरेजस्तै हिजबुल्लाहले प्रयोग गरिरहेका पेजर तथा वाकीटकीमा इजरायलले पहिले नै उच्च विस्फोटक पदार्थ फिट गराएको त थिएन ? यसमा शंका भने कायमै छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०९:४३
विचार/ब्लग
Weather Update