News Griha :: न्यूजगृह
रविको ठोकुवा— शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्छ
फाइल तस्बिर।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्ने ठोकुवा गरेका छन्।

बिहीबार रास्वपाले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले वर्तमान संसद्मा सरकार बनाउनको लागि एक वा दुईभन्दा बढी पार्टीहरू मिल्नुको विकल्प नभएको बताए।

उनले अहिलेको सरकार दुई तिहाइको भनिए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमा ढल्ने अवस्था रहेको बताए।

उनले भने, ‘संविधानमा शासकीय सुधारमा हामीले प्रत्यक्ष प्रधानमन्त्रीको विषयमा हामीले बतायौँ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ। प्रधानमन्त्रीले विज्ञताका आधारमा विषयविज्ञलाई मन्त्रिमण्डल राख्न पाउने भनेका छौँ। हामीले सांसदहरू नीति निर्माता र विधायिकाहरू मात्रै बन्न सकून्। संसद्मा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेन्डपछि सरकार ढल्यो। अस्थिरता छ। अहिले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर छ। एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन। मैले कस्तो हेडलाइन बन्छ भनेर भनेको होइन। तर हो कि होइन भन्नुस् त?’

उनले संविधानले व्यवस्था गरेको शासकीय स्वरूपमा नै अस्थिरता रहेको बताए। सभापति लामिछानेले रास्वपाले शासकीय स्वरूपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गरे।

उनले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रिमण्डल बनाउन पाउने शासकीय स्वरूप बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे।

उनले दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताए। उनले दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूमा आत्मविश्वास नदेखिएको बताए। उनले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको, बोलेको आधारमा समाउने काम गरेर बसेको बताए।

‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो। प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो। मन्त्रीहरूमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियो। तर टिसर्ट लगाएको मान्छे समाएको छ। कराएको मान्छे समाएको छ। त्यो चलखेल गर्ने उपसभामुखलाई हटाउने लगायतका काम गर्नुहुँदैन,’ उनले भने, ‘यो दुई तिहाइको सरकार त्यतातिर छ। कुनै प्राथमिकता छैन। तर भनिएको छ। संविधान संशोधन गर्छु। संविधान संशोधन गर्छु भन्ने नाममा आफ्नो राजनीतिक इन्ट्रेस्टको सौदाबाजी गर्न पाइँदैन। संविधानलाई सौदाबाजी गर्नु राम्रो भएन। सुन्दा सुन्दर सुनिन्छ। संविधान संशोधन गरेर केही गर्न खोज्यो तर त्यस्तो हुन गएको देखिएको छैन।’

उनले दुई तिहाइको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जायज नभएको बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १९:४६
Weather Update