News Griha :: न्यूजगृह
काम गरेर देखाउनेबाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन: प्रधानमन्त्री ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन्। बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गरेर देखाउने र गरेकै कामले आशा भर्नेबाहेक वर्तमान सरकारको अर्को एजेन्डा नभएको बताएका हुन्।

२०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक बोकेको र पोखेको आफूले संसद्‍मा विश्वासको मत लिँदै गर्दा पनि भनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'म देख्छु, खासगरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ। केही गरौँ भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ। म युवा लगायत सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई विश्वास दिलाउन चाहन्छु, काम गरेर देखाउने, गरेकै कामले आशा भर्ने बाहेक यो सरकारको अर्को एजेण्डा छैन। संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारको अरू कुनै मुद्दा छैन।'

विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। 'विकासका लागि स्थायित्व चाहिन्छ। अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ। राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो। तसर्थ विकासको लागि स्थायित्व अर्थात निरन्तरता र स्थिरता अनिवार्य तत्त्न हुन। संविधानलाई समायानुकुल बनाउनु पर्छ। समायानुकुल बनाउने भनेको अनुकुल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो,' उनले भने।

त्यस्तै उनले संविधानलाई समायानुकुल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने स्पष्ट पारे। संशोधन प्रक्रियामा संसद्‌को गणितीय सङ्ख्या मात्रै नहेर्ने भन्दै सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास हुने उनको भनाइ छ।

'मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एण्ड स्पिरि) अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो। विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो। राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्नसक्छौँ। यसप्रति निश्चय नै राष्ट्रिय चासो छ। म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौँ। सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ,' प्रधानमन्त्री ओलीले भने।

युवा पुस्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजलाई हुलमुल गराउन खोज्नेहरूबाट जोगाउन पनि आग्रह गरेका छन्। 'तपाईंहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला। समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौं, गछौँ। सुशासन कायम त हामी गर्छौं, गर्छौं। तर याद गरौं, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौँ,' प्रधानमन्त्री ओलीले भने। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:३३
Weather Update