News Griha :: न्यूजगृह
धरहरा चढ्न सुन्धारामा सर्वसाधारण
धरहरा चढ्न सुन्धारामा सर्वसाधारण

काठमाडौं— सरकारले आज संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुला गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्‌घाटन गरेका थिए। त्यति बेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायत संरचना बनाउन बाँकी थियो।

dharahara_2-1726729021.jpg
धरहराबाट लिएको दृश्य

२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो। भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ। उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ।

अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए। ९० सालको भुइँचालोमा भत्केर उक्त धरहरा नौ तलामा सीमित भएको थियो। त्यसपछि नौ तला नै राखेर पुनर्निर्माण गरिएको थियो। अहिले बाहिरबाट देखिँदा ११ तले छ। भित्र भने २२ तला छ। जमिनमुनि तीनवटा तला बनाइएको छ।

69-98-1726729021.jpg
धरहराबाट काठमाडौं उपत्यकाको तस्बिर लिँदै सर्वसाधारण

धरहराको वरपर विश्राम स्थलसहितको बगैँचा छ। ऐतिहासिक सुन्धारामा २४ सै घण्टा पानी आउने छ। परिसरमा सङ्ग्रहालय, रङ्गीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना बनाउने तयारी  छ। तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। जहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:४३
Weather Update