News Griha :: न्यूजगृह
भोलिदेखि धरहरा खुल्ने, सर्वसाधारण नि:शुल्क चढ्न पाउने 
फाइल तस्बिर।

 काठमाडौं— भूकम्पले ढलेको ९ वर्षपछि सर्वसाधारणले नयाँ धरहरा चढ्न पाउने भएका छन्। पुनर्निर्माण भएको धरहरा भोलि (बिहीबार)देखि सञ्चालनमा आउने भएसँगै सर्वसाधारणहरूको लागि खुला हुने भएको हो।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ।

यसका लागि सबै तयारी पूरा भइसकेको शहरी विकास मन्त्रालयकी उपसचिव एवं प्रवक्ता बिनु बज्राचार्य कुँवरले जानकारी दिइन्। उनले भनिन्, ‘सरकारले निर्णय गरेअनुसार नै भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ।’

२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो। तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण सुरु हुन सकेन। धरहरा ढलेको ३ वर्षपछि मात्रै पुनर्निर्माण थालियो। केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए।

तर पुनर्निर्माण नसकी ३ वर्षअघि नै उनले उद्‌घाटन गरिसकेका छन्। निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्‌घाटन गरेका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो।

सरकारले धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको छ। सोहीअनुसार धरहरा सञ्चालनको लागि समिति नै गठन गरेको शहरी मन्त्रालयले जनाएको छ। यसअघि क्षेत्राधिकार नतोकिँदा धरहरा बन्दै गर्दा नै विवादमा परेको थियो।

काठमाडौं महानगरपालिकाले धरहरा बनि नसक्दै निशुल्क पार्किङ खोलेपछि प्रधानमन्त्री केपी शर्मा ओली महानगरपालिका प्रमुख बालेन साहसँग रुष्ट बनेका थिए।

निःशुल्क चढ्न पाइने
भोलिदेखि सञ्चालनमा आउन लागेको धरहरामा सर्वसाधारणहरूले निःशुल्क चढ्न पाउनेछन्। शहरी विकास मन्त्रालयकी उपसचिव एवं प्रवक्ता बज्राचार्य कुँवरले निःशुल्क रूपमा धरहरा सञ्चालन हुने जानकारी दिइन्।

‘हालसम्म शुल्क लिने भन्ने निर्णय छैन, त्यसैले सर्वसाधारणहरूले निःशुल्क धरहरा चढ्न पाउने छन्, पछि चाहिँ शुल्क लिइने व्यवस्था पनि हुनसक्छ, तर अहिले तत्काललाई शुल्क तोकिएको छैन,’ उनले भनिन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:१५
Weather Update