काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको २६ महिनामा पार्टी सदस्य एक लाख ४० हजार पुगेको जनाएको छ। मंगलबार सुरु भएको राष्ट्रिय भेलामा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा बढी बागमती र सबैभन्दा कम कर्णालीमा सदस्य सङ्ख्या रहेको उल्लेख छ।
रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, कोशीमा २२ हजार ८५६, मधेसमा ११ हजार ४३३, गण्डकीमा १९ हजार २०३, लुम्बिनीमा २३ हजार ३०३, सुदूरपश्चिममा १६ हजार ६७७ र कर्णालीमा ५ हजार ३८६ सदस्य छन्।
रास्वपाले यो अवधिमा संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा बनाएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले प्रतिवेदनमा लेखेका छन्।
पालिका अनुसार कोशीका १३६ पालिकामध्ये ६९, मधेसका १३६ मा ४६ पालिका, बागमतीमा ११९ पालिकामा ९३ मा, गण्डकीका ८५ पालिकामा ४२, लुम्बिनीका १०९ पालिकामध्ये ७६ र सुदूरपश्चिममा ८८ मा ५२ पालिकामा संगठन बनेको प्रतिवेदनमा लेखिएको छ।
बुर्लाकोटीले २०८२ वैशाखमा प्रथम महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन्। यस वर्षको चैतमा जिल्लासँगै त्यस मातहतमा रहेका संरचनामा अधिवेशन गर्ने र अर्को वर्षको पहिलो महिना (वैशाखमा) प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बुर्लाकोटीले प्रस्ताव गरेका छन्।
हिजोदेखि सुरु भएको राष्ट्रिय भेला बुधबार सकिँदैछ। भेलाले राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गर्ने भएको छ।