बडिबिल्डर खेलाडी राईको मृत्यु
काठमाडौं— शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको बुधबार मृत्यु भएको छ। पाँचौँ खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता राईको बुधबार मृत्यु भएको हो।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए।
मोरङको ‘फोनिक्स फिटशाला’ बाट सहभागी बन्न उनी काठमाडौं आएका थिए। टोखा नगरपालिका–६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका उनी बुधबार बिहान ६ बजेतिर अचानक लडेका थिए।
उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ।
उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त महाराजगञ्जले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १३:०९