News Griha :: न्यूजगृह
देशको पत्रकारिता निर्लज्ज बन्योः रवि लामिछाने
तस्बिर स्रोतः राष्ट्रिय स्वतन्त्र पार्टीको फेसबुक पेज।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको पत्रकारिता निर्लज्ज बनेको बताएका छन्। देशको पत्रकारिता जोगाउन आग्रह गरेका छन्।

‘यो देशको पत्रकारिता जोगाउनुस्। मलाई नङ्ग्याउने स्वार्थमा आफू ननाङ्गिनुस्। पत्रकारिता यति निर्लज्ज हुनु हुँदैन,’ काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको राष्ट्रिय भेलामा उनले भने।

उनले रास्वपाको हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि भएको बताए। कसैलाई आक्षेप लगाउन नभएको तर, राजनीतिकको नाममा मौलाएका विकृतिविसङ्गतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने आफूहरूको भन्नु केही नरहेको उनले बताए।

‘हाम्रो आगमन नै अरूका लागि टाउको दुखाइको विषय बन्यो। हामीले बहुमत नल्याउँदासम्म उहाँहरूको टाउको दुखिरहन्छ। रास्वपा सकियो भन्ने पनि छन्। तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेर्नुस्। दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सकियौँ। हामी त फैलँदै छौँ,’ उनले भने। 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:४६
Weather Update