News Griha :: न्यूजगृह
कांग्रेसले देखाएका प्रमाणहरू फेल भए, म सहकारी ठगीमा निर्दोष भएँः रवि लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको र विषय अब गोर्खा मिडियातिर जाने बताएका छन्।

राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसतर्फ लक्षित गर्दै लामिछानेले उनीहरूले देखाएका प्रमाणहरू फेल भएको र आफू सहकारी ठगीमा निर्दोष देखिएको बताएका हुन्।

लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भइरहेको बताए। लामिछानेले देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र गर्नमै समय कटाउने गरेकाले यो देशको समृद्धि हुन नसकेको जिकिर गरे।

पार्टीको राष्ट्रिय भेला आजदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो। भोलिसम्म चल्ने भेलाले पार्टीको पहिलो महाधिवेशनको मिति तोक्ने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने छन् भने कार्यवाहक महामन्त्री एवं संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

भेलामा प्रदेश सभापतिहरूले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ पनि गर्ने कार्यक्रम छ। साथै अनुशासन आयोगको सङ्क्षिप्त प्रतिवेदनमा पनि छलफल हुने बुर्लाकोटीले जानकारी दिए।

राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने छन्। कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार भेलामा केन्द्रीय सदस्यदेखि पालिकासम्मका प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:२७
Weather Update