News Griha :: न्यूजगृह
रास्वपाको राष्ट्रिय भेला आजबाट, प्रथम अधिवेशनको मिति तय गर्ने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ। भेला बिहान पौने ९ बजे घण्टी बजाएर उद्‌घाटन हुनेछ।

भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्यमान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ। सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।

यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ। भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी हुनेछन्। निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग/आयोगहरूबाट प्रतिनिधित्व रहनेछ।

भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखिएको छ। आज पहिलो दिन संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्। सोही प्रतिवेदनमाथि छलफल हुनेछ।

पार्टी सभापति लामिछानेको प्रतिवेदन भने बुधबार पेस हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०७:५६
Weather Update