News Griha :: न्यूजगृह
ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास

काठमाडौं— अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ।

फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पमाथि एके–४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

गत असारमा पनि पेन्सेलभेनियामा चुनावी अभियानको क्रममा भाषण गरिरहेको बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो। गोली लागेर उनको कानमा घाउ भएको थियो। गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका थिए। त्यतिबेला केहीबेर आराम गरेर उनी पुनः राष्ट्रपति निर्वाचनको अभियानमा सक्रिय भएका थिए।

बीबीसीका अनुसार यसपटक फ्लोरिडाको वेष्टपाम बीचको गल्फ कोर्स नजिकैको झाडीमा एके–४७ जस्तो देखिने बन्दुक ट्रम्पतिर तेर्स्याएको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५८ वर्षीय र्‍यान वेल्सी रहेका छन्।

उनी पक्राउ परेको क्षेत्रमा एउटा कालो गाडी, गोप्रो क्यामेरा, झोला र आगो निभाउन प्रयोग गरिने उपकरण पनि फेला परेको थियो।
अमेरिकी जासुसी संस्था एफबीआईका अनुसार ट्रम्पको हत्या गर्ने प्रयास भएको जस्तो देखिन्छ। अलजजिराले ट्रम्प दोस्रोपटक हत्या प्रयासबाट जोगिएको जनाएको छ।

ट्रम्पले पनि आफू सुरक्षित भएको भन्दै नडराउन आफ्ना समर्थकलाई आह्वान गरेका छन्। आफूलाई रोक्न खोज्नेहरु जे गर्न पनि तयार भएको भन्दै ट्रम्पले यसविरुद्ध आफ्नो संघर्ष नरोकिने जनाएका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनको अर्की उम्मेदवार कमला ह्यारिसले अमेरिकामा हिंसाको कुनै स्थान नभएको प्रतिक्रिया दिएकी छन्। उनले ट्रम्प सुरक्षित भएकोमा आफू खुसी रहेको बताएकी छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:३४
Weather Update