News Griha :: न्यूजगृह
कोलकाता बलात्कार घटना: मेडिकल कलेजका पूर्वप्रमुख र पुलिस इन्चार्ज पक्राउ

काठमाडौं— भारतको कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा एक डाक्टरको बलात्कार र हत्याको आरोपमा मेडिकल कलेजका पूर्व प्रमुख सन्दीप घोष र ताला पुलिस स्टेसनका इन्चार्ज अभिजित मण्डललाई सीबीआईले पक्राउ गरेको छ।

भारतीय मिडियाका अनुसार सीबीआईले उनीहरूलाई प्रमाणसँग छेडछाड गरेको, बेपत्ता पार्ने र ढिलो गरी एफआईआर दर्ता गरेको आरोपमा शनिबार राति पक्राउ गरेको हो। अब यी दुवै अभियुक्तलाई आज अदालतमा पेस गरिने छ। 

सन्दीप घोष यसअघि नै आर्थिक घोटाला मुद्दामा सिबीआईको हिरासतमा छन्। हाल उनलाई २३ सेप्टेम्बरसम्म प्रेसिडेन्सी कारागारमा न्यायिक हिरासतमा राखिएको छ। अब सीबीआईले उनलाई नयाँ मुद्दामा हिरासतमा लिने प्रयास गर्न सक्छ। 

पहिलो दिनदेखि नै सन्दीप घोष र कोलकाता प्रहरीविरुद्ध मुद्दा लुकाउने र प्रमाणसँग छेडछाड गरेको आरोप लाग्दै आएको थियो। त्यस्तै यसअघि पनि अप्राकृतिक मृत्युको मुद्दा दर्ता भएको थियो। शवको पोस्टमार्टम र दाहसंस्कार पछि घटनाको एफआईआर दर्ता गरिएको थियो। 

यस मामिलामा सञ्जय राई नामका नागरिक स्वयंसेवक यसअघि नै पक्राउ परेका छन्। उनी हाल सीबीआईको हिरासतमा छन्। अहिले यस मुद्दामा जम्मा तीन अभियुक्त पक्राउ परेका छन्। घटना भएको क्षेत्र ताला प्रहरी चौकी अन्तर्गत पर्दछ। यसका ओसी अभिजित मण्डल बिरामीको बहानामा सेप्टेम्बर ५ गते निजी अस्पतालमा भर्ना भएका थिए।

उनलाई सोधपुछका लागि शनिबार सीबीआईको कार्यालयमा बोलाइएको थियो। बयानमा भिन्नता देखिएपछि राति उनलाई पक्राउ गरिएको सीबीआईले जनाएको छ। यता, आन्दोलनरत जुनियर डाक्टरहरूले यी पक्राउप्रति सन्तुष्टि जनाएका छन्। उनले यसलाई न्यायतर्फको ठोस कदम भनेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:४१
Weather Update