News Griha :: न्यूजगृह
सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित
फाइल तस्बिर।

काठमाडौं— राजदूत नियुक्तिको सिफारिस गर्न आइतबारका बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सरकारले सिफारिस गरेका राजदूतहरूको सुनुवाइ शुक्रबार सकेको छ। आज ती राजदूतहरूको नियुक्तिको सिफारिस अनुमोदन गर्न बोलाइएको बैठक स्थगित गरिएको संसदीय सुनुवाइ समितिका एक सदस्यले जानकारी दिए।

उनका अनुसार अचानक बैठक स्थगित भएको सूचना आएको छ। अर्को बैठक तोकिएको छैन।  किन बैठक स्थगित गरिएको भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ।

समितिकी सभापति ईश्वरीदेवि न्यौपानेले संसद् बैठकमा जानु पर्ने भएकोले बैठक स्थगित गरिएको बताइन्। अब अर्को बैठक चाँडै बोलाइने उनको भनाइ छ।

गत साउन १४ गते सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। तर, अष्ट्रेलियाका लागि सिफारिस भएकी राजदूत कान्ता रिजालको नाम फिर्ता लिएर सरकारले १७ देशका राजदूतको सुनुवाइका लागि संसदीय समितिमा पठाएको थियो।

समितिले विभिन्न मितिमा गरेर उनीहरूको सुनुवाइ सकेको छ। अब समितिले उनीहरूको नाम अनुमोदन गरेर नियुक्तिका लागि सिफारिस गर्नेछ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:२०
Weather Update