
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्म अनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका छन्।
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरूको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए।
अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरूले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट गरे।
'विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो। ससानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरू छन्,' प्रधानमन्त्री ओलीले भने, 'समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस्। समितिले सरकारलाई निर्देश गरोस्। त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ।'
समितिले आफ्नो अन्तिम प्रतिवेदन तयार गर्नु अघि प्रधानमन्त्रीसँग छलफल गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन्।