
काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मूकदर्शक बनेको गुनासो गरेका छन् ।
पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लामा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकिर गर्दै त्यस्ता उद्दण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारूढ दलकै कार्यकर्ताहरूले ढुंगामुढा गरेको पनि बताए ।
‘ज्ञानेन्द शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत देखिएको छ । यहाँभित्र उनीहरूले भित्र भित्र खेलाउने, जसलाई मैले छौडा भन्ने गरेको छु । यो पूर्व दरबारीयाहरुले छौडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन्,’ उनले थपे, ‘अर्को कुरा, अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरू अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएका छन् ।’
हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहीँ ढुंगा हान्ने, कहीँ भिडन्त गर्न आउने तर, सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उनको भनाइ छ ।
ओलीले हरेक ठाउँमा २० जनाजति उही समूहका मानिसले आफूमाथि आक्रमण प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको आरोप लगाए । उनले वर्तमान गठबन्धन सरकारले मुखले जे सुकै भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै आपत्ति जनाए । आफूहरुमाथि गाली बेइज्जति, अश्लील शब्दको वर्षा गर्दा पनि ती अराजक समूहलाई नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको पनि ओलीले बताए ।













