News Griha :: न्यूजगृह
परिवर्तनका विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन्ः प्रधानमन्त्री ओली
फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अझै पनि बन्न नदिने प्रयास भइरहेको बताएका छन्। उनले मुलुकलाई शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने यात्रामा कटिबद्ध भएर लागिरहेको बताए।  प्रधानमन्त्री ओलीले परिवर्तनका विरोधी शक्तिहरू संविधान विरुद्ध खुलेआम लागिरहेका बताए।

शनिबार काठमाडौंको बूढानीलकण्ठमा पार्टीले गरेको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भनेर प्रतिक्रियावादीहरू जुर्मुराएर लागिरहेको आरोप लगाए। 

‘अहिलेको परिस्थिति जटिल छ। हामीविरुद्ध घेराबन्दी भएको अवस्था छ। परिवर्तनका विरोधी शक्तिहरू संविधान विरुद्ध खुलेआम लागेका छन्। सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरू बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘जानी नजानी एक खालका मानिसहरूबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ। सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन्। उनीहरूलाई काम र मेहनत गर्नु पर्दैन। भएको राम्रो कामको उल्टो काम प्रचार गरे पुग्छ।’ 

उनले त्यसलाई चिर्ने गरी केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरूले काम गर्नुपर्ने बेला रहेको बताए। आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरूपमा लाग्न आग्रह गर्दै उनले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समस्याहरूको खोजी र निदान हुने अपेक्षा गरे।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १३:५०
Weather Update