
काठमाडौं— पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेन्डा बन्नुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाउन माइतीघर पुगेका उनले महावीर पुनका मागहरू गठबन्धनको बैठकमा एजेन्डा बन्नुपर्ने र टुंगो लगाउनुपर्ने बताए ।
उनले आफू अहिले भुँइमान्छे रहेको भन्दै आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाएको बताए । ‘गठबन्धनको बैठक बस्नुपर्ने हो, उहाँका एजेन्डा अघि सारेर एउटा टुंगोमा पुग्नुपर्ने हो । हाम्रो देशका वैज्ञानिकहरूलाई एक घण्टा पनि बस्नुपर्ने परिस्थिति हुनै नदिनुपर्ने थियो,’ उनले भने, ‘तर, अहिले त म पनि भुँइमान्छे हो, उहाँजस्तै संसदमा पनि छैन, सरकारमा पनि छैन । पार्टी मात्रै सरकारमा छ । पार्टीका नेताहरू बसेर एक आपसमा छलफल गर्नुपर्ने आवश्यकता म देख्छु ।’
उनले महावीर पुनका माग प्रधानमन्त्री एक्लैले समाधान गर्नसक्ने भन्दै प्रधानमन्त्रीले पहलकदमी लिन आग्रह गरे । आगामी आर्थिक वर्षको बजेटमा आविष्कारको क्षेत्रमा सरकारले सक्नेजति बजेट छुट्याएर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री खनालले युवा वैज्ञानिकलाई देशमा काम गर्नसक्ने वातावरण नबनाए युवा वैज्ञानिकहरू बहिर्गमनमा जाने खतरा पैदा भएको बताए ।













