News Griha :: न्यूजगृह
अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना
तस्बिर स्रोत: पुथा उत्तरगङ्गा गाउँपालिकाको वेबसाइट।  

बागलुङ— रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन्।

तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जीप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो। आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गरेकी बुढाले आमासँगै दुर्घटनामा ज्यान गुमाइन्।

आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडौं बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कँदै गर्दा बागलुङको गलकोटमा भएको जीप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उनकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो। उनीहरूसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको पनि घटनास्थलमा मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले गाउँपालिकाको जीप रुकुम पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भएर भुङ्खानीको भीरमा खसेको थियो।

सूचना अधिकारी पौडेलले भने, 'उहाँ शी लिड्स आइकनको उत्कृष्टै महिला जनप्रतिनिधिमा छनौट हुनुभएको थियो, शी लिड्स आइकनको टप २७ मा छनौट भएपछि उनले सामाजिक सञ्चालनमा भोट माग्दै काठमाडौंबाट घरतर्फ लाग्नुभएको रहेछ।'

प्रतिस्पर्धामा देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो। ‘अनलाइन’ मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका थियो।

तर, उक्त सूचीबाट एकजनाको सङ्ख्या शुक्रबारबाट घटेको छ। सो दुर्घटनामा जीपचालक रुकुम पूर्व भूमि गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भीर घाइते छन्। उनको टाउकोमा गम्भीर चोट लागेपछि धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ। 

शुक्रबार रा१ज २०० नंको पिकअप जीप अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो। उपाध्यक्ष बुढाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा आमाको खुट्टाको उपचार गराइरहेको, आमालाई मन्दिर घुमाइरहेको फोटा राखेकी थिइन्।

सात वर्षअघि उपाध्यक्ष बुढाले बुबालाई गुमाउएकी थिइन्। उपाध्यक्षको जीप दुर्घटनामा आमासँगै र वडाअध्यक्षको समेत मृत्यु भएपछि सिङ्गो गाउँपालिका शोकमा डुबेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १०:४१
Weather Update