News Griha :: न्यूजगृह

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैशाख दोस्रो सातासम्म देशभरका विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गरिसकेको जनाएको छ । 

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको मन्त्रालयका सह–सचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले पाठ्यपुस्तक नपुगेको ठाउँमा सम्पर्क भएको मितिले दुई दिनभित्र सबैभन्दा नजिकको बिक्रेता तथा पुस्तक पसलमार्फत पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाइएको पनि बताए । 

‘यसपालि ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु गरेका थियौँ । त्यसैले समयमै किताब विद्यार्थीको हात हातम पुर्‍याउन सक्यौँ,’ उनले भने । 

यसवर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६–१० को लागि १ करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाबाट कक्षा १–५ को लागि १ करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ भएको थियो । जसमा ७७ वटै जिल्लाका सूचीकृत १ हजार २६७ स्थानीय बिक्रेतामार्फत बिक्री वितरण भइरहेको छ । 

यस्तै, सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता शर्माले काठमाडौं महानगरपालिकाले विद्यालयको नामाकरणको सम्बन्धमा गरेको पछिल्लो निर्णय महानगरपालिकाको अधिकारको विषय भएको बताए । 

उनले भने, ‘स्थानीय तहले विद्यालयको नाम परिवर्तन गर्न, विद्यालय गाभ्न, स्थानान्तरण गर्न र आवश्यक परेमा बन्द पनि गराउन सक्छ ।’ तर, उनले महानगरको निर्णयको आधिकारिकता भने मन्त्रालयमा आइनसकेको स्पष्ट पारे ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १६:३२
Weather Update