News Griha :: न्यूजगृह
उपसभामुख हटाउने कार्यको प्रतिकार गर्छौं : रास्वपा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलहरूको तयारीको प्रतिकार गर्ने चेतावनी दिएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर रास्वपाले उपसभामुख हटाउने कार्यको प्रतिकार गर्ने बताएको हो।

‘एमाले र कांग्रेसले तयारी गर्दै हुनुहुन्छ रे। आन्तरिक छलफल गर्न हामीले बाँकी छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘एउटा कुरा स्पष्ट रुपमा भन्न चाहन्छु कि, हामी प्रतिकार गर्नेछौँ।’

उपसभामुख रानाले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रको स्पष्टीकरण दिइसकेको भन्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले त्यही विषय उठाएर हटाउन खोज्नु बेठीक भएको बताए। उपसभामुख रानाले गरेको त्रुटि पद नै जाने खालको नभएको बुर्लाकोटीले जिकिर गरे।

गत सोमबार बालुवाटारमा बसेको बैठकपछि सत्तापक्षले उपसभामुख रानालाई पदीय आचरण अनुरूप कार्य नगरेको भन्दै पदमुक्त गराउने तयारी गरेका छन्। दुई तिहाइ सांसदको सङ्ख्या पुर्‍याउनका लागि मङ्गलबार र बुधबार हस्ताक्षर सङ्कलन गरेका छन्।

संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जानका लागि २०२३ को फेब्रुअरीमा उपसभामुख रानाले ४ पुरुष र एक महिलालाई आफूसँग लाने गरी दूतावासमा सिफारिस पत्र लेखेकी थिइन्।

उपसभामुख रानाले त्यसबेला लेखेको पत्र गत साउनको पहिलो साता सार्वजनिक भएको थियो।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:४३
Weather Update