
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो।
प्रधानमन्त्री ओलीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब आधा घण्टा छलफल भइसकेपछि कांग्रेस सभापति देउवा पनि सहभागी भएका थिए। उपसभामुख इन्दिरा राना प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरू भेला भएको बताइएको छ।
प्रधानमन्त्रीको सचिवालयले संवैधानिक परिषद बैठक अगाडि तीन नेताबीच समझदारी जुटाउन प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको जनाएको छ।













