News Griha :: न्यूजगृह
निगमको वाइडबडी जहाज दुई महिनापछि इटालीबाट फर्कियो
फाइल तस्बिर।

काठमाडौं— नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ।

निगमको वाइडबडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यो विमान फर्किएसँगै निगमले लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ।

सी चेक अर्थात् कम्प्रिहेन्सिभ इन्स्पेक्सन भनेको जहाजको नियमित मर्मत हो। यस्तो मर्मत हरेक १८ देखि २४ महिनामा गरिन्छ। यसअन्तर्गत जहाजको प्रणाली, संरचना र सामग्रीहरूको विस्तृत परीक्षण गरिन्छ। विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्ट्रिकल सिस्टमसम्म परीक्षण गरिन्छ।

विमानको यसरी गरिने परीक्षण ए चेक, बी चेक, सी चेक र डी चेक गरी चार प्रकारको हुन्छ। ए र बी चेक सामान्य खालको हुन्छ भने सी र डी चेकमा विमानको विस्तृत परीक्षण गरिन्छ।

नेपाल वायुसेवा निगमले इटालीको एटीटेक एसपीए कम्पनी छनौट गरेर सी चेक गरेको थियो।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १०:५९
Weather Update