News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रयोगकर्ताबाट पैसा लिएर ‘क्रिएटर’लाई बाँड्दै ट्वीटर

काठमाडौं— ट्वीटरका सीईओ एलन मस्कले २९ अप्रिलमा एउटा ट्वीट गरे । ‘अर्को महिनादेखि यो प्लेटफर्म (ट्वीटर)ले मिडिया प्रकाशकहरूलाई आफ्नो कन्टेन्टको क्लिक गर्दा प्रयोगकर्ताहरूलाई शुल्क लगाउने अनुमति दिनेछ । जसअनुसार ती मिडिया प्रकाशन ‘सब्सक्राइब’ नगर्ने प्रयोगकर्ताले आफूले चाहेको बेला ट्वीटरमार्फत आफ्नो चाहनाअनुसारको कन्टेन्ट पढ्न पाउनेछन् । तर शुल्क तिरेर । यो मिडिया सञ्चालक र जनता दुवैको लागि विन–विन सिचुएसन हो ।’ 

सामान्यतया ठूला मिडिया कम्पनीले आफ्नो कन्टेन्ट पढ्नका लागि प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा सदस्यता लिन लगाउँछन् । ती कम्पनीले सदस्यता लिनका लागि निश्चित रकम तोकेका हुन्छन् । यसरी सदस्यता लिइसकेपछि मात्र प्रयोगकर्तालाई सो प्लेटफर्ममा ‘एक्सेस’ हुन्छ । ट्वीटरको खेल यहीँनेर हो । 

सीईओ मस्कका अनुसार ती मिडिया प्लेटफर्मको सदस्यता नलिएका प्रयोगकर्ताले पनि ट्वीटरको प्लेटफर्ममार्फत आफ्नो रुचीअनुसारको कन्टेन्टमा एक्सेस (पहुँच) पाउनेछन् । ट्वीटरको माध्यमबाट जान मिल्ने त्यस्तो कन्टेन्टको लागि प्रयोगकर्ताले निश्चित रकम तिर्नुपर्ने गरी कम्पनीले आफ्नो प्लेटफर्मलाई कस्टमाइज गर्न लागेको जनाऊ मस्कले दिएका हुन् । उनले उल्लेख गरेका छन्, ‘प्रयोगकर्ताहरूले आफूले चाहेको बेला चाहनाअनुरूपको कन्टेन्ट ट्वीटरमार्फत निश्चित रकम तिरेर पढ्न पाउनेछन् ।’

Prabhu Bank

मस्कले रिट्वीट गर्दै भनेका छन्, ‘यसरी प्रयोगकर्ताले कन्टेन्टबापत तिरेको रकम सबै क्रिएटरलाई जानेछ । हामीले त्यसबापत शुल्क लिने छैनौँ ।’ साथै उनले विश्वभरका कन्टेन्ट क्रिएटरलाई आर्थिक रूपमा सहयोग गरी अझै गजब कन्टेन्टहरू ल्याउन कम्पनीले यस्तो निर्णय गरेको बताएका छन् । 

के गर्नुपर्छ ट्वीटरबाट पैसा पाउन ?

‘कन्टेन्ट क्रिएटर’ले ट्वीटरमार्फत आफ्नो कन्टेन्ट बेच्न सबैभन्दा पहिला ट्वीटरमा ‘मनिटाइज’ हुनुपर्छ । ट्वीटरमा आफ्नो खाता मनिटाइज भएपश्चात् मिडिया प्रकाशक वा क्रिएटरले आफ्नो शैलीअनुसारको कन्टेन्ट हाल्न पाउँछन् । तर, ट्वीटरले कन्टेन्ट उत्पादकलाई सकेसम्म कतै नलेखिएको कन्टेन्ट हाल्न सुझाव दिएको छ । साथै विचार र जानकारीमूलक सामग्रीहरू (जो पाठकका लागि फाइदाजनक छन्) समावेश गरी आफ्ना पाठकसँग साक्षात्कार गरिरहन पनि उत्पादकहरूलाई सुझाव दिएको छ । 

यस्तो खालको ट्वीटर खाता बनाउन क्रिएटर १८ वर्ष पुगको हुनुपर्ने ट्वीटरको नियम छ । क्रिएटर अकाउन्टका लागि कम्तीमा ५ सय फलोअर र एक महिनाभन्दा पुरानो ट्वीटर ह्यान्डल हुन जरुरी हुन्छ । पैसा तिरेर हेर्नुपर्ने कन्टेन्ट सामान्य प्रयोगकर्ताको पहुँचमा भने हुदैन । पैसा तिरेका प्रयोगकर्ताले आफ्नो ह्यान्डलमा रिट्वीट गर्दा पनि सो कन्टेन्ट देखिनेछैन । 

ट्वीटरले आफ्नो अफिसियल साइटमा राखेको ‘डेमो’ अनुसार ४.९९ डलर सदस्यता शुल्क प्रयोगकर्ताले तिर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले कन्टेन्ट हेरेपश्चात् ट्वीटरले म्यानुअल्ली क्रिएटरको खातामा सो बापतको रकम देखाउँछ । न्यूनतम ५० डलर नपुग्दा सम्म क्रिएटरले सो रकम निकाल्न पाउँदैनन् । बैंक खातासँग कनेक्ट गरेर ट्वीटरमार्फत क्रिएटरले पैसा क्लेम गर्न सक्छन् । यसरी क्लेम गरेको रकम ३ देखि १० दिनभित्र क्रिएटरको बैंक खातामा जम्मा हुनेछ । कन्टेन्टबापतको पैसा क्रिएटरको अकाउन्टमा हालसम्मको रेकर्ड हेर्दा कुनै पनि मनिटाइज्ड प्रोडक्टले ट्वीटरमार्फत ५० हजार डलरभन्दा बढी कमाइ गर्न सकेका छैनन् । ट्वीटरको पछिल्लो घोषणाले क्रिएटरलाई योभन्दा बढी पैसा कमाउनसक्ने बाटो खुला गरेको छ ।

विश्वका विभिन्न देशसँगै छिमेकी मुलुक भारतका क्रिएटरले समेत ‘सब्सक्रिप्सन अकाउन्ट’ खोल्न पाउने भएपनि नेपालको लागि भने यो सुविधा ट्वीटरले दिएको छैन । 

पैसा आफूले नराख्ने भएपछि ट्वीटरलाई के फाइदा ?

नयाँ व्यवस्थापनले जिम्मा लिएसँगै सामाजिक सञ्जाल ट्वीटरमा धेरै फेरबदल आइरहेका छन् । ट्वीटरको पछिल्लो घोषणाले प्रत्यक्ष रूपमा ट्वीटरलाई आर्थिक फाइदा नदेखिएपनि यो प्लेटफर्ममा क्रिएटरको सक्रियता भने विश्वव्यापी बढ्ने निश्चित छ । विश्वभरका उत्कृष्ट र गजबका कन्टेन्टहरू ट्वीटरमा कम पैसामै हेर्न र पढ्न पाउने भएपछि प्रयोगकर्ताहरू पनि सोही अनुपातमा बढ्ने कम्पनीको प्रक्षेपण छ । 

यसरी ट्वीटरमा रेभेन्यूका लागि जोडिने क्रिएटर र मिडिया प्रकाशकहरूले आफ्नो कन्टेन्ट बिकाउनका लागि आफ्नै प्लेटफर्ममार्फत पनि धेरैभन्दा धेरै प्रचार गर्छन् । जसको प्रत्यक्ष फाइदा ट्वीटरलाई हुनेछ । त्योबाहेक ट्वीटरले यस्ता क्रिएटरको अन्य प्लेटफर्ममा पनि सहज रूपमा ‘इन्ट्री’ मार्न पाउनेछ । 

आईओएस, एन्ड्रोइड र वेभ भर्सनमा ट्वीटरले आफ्नो सुविधा उपलब्ध गराएको छ । विश्वभर हाल करिब ४५ करोडको हाराहारीमा ट्वीटर प्रयोगकर्ता रहेका छन् । 

हाल ट्वीटरले आफ्नो प्लेटर्फमा आउने विज्ञापनहरूको रेभेन्यू क्रिएटरहरूसँग बाँड्दै आएको छ । प्रयोगकर्ताबाटै पैसा लिएर शतप्रतिशत क्रिएटरलाई रकम उपलब्ध गराउने ट्वीटरको पछिल्लो निर्णयले विश्वभरका क्रिएटरहरूमा भने खुसी सञ्चार गरेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १५:१७
sagarmatha cementsagarmatha cement
Weather Update