News Griha :: न्यूजगृह
साढे ४ लाख घुससहित वडाध्यक्ष, सचिव र कार्यालय सहयोगी पक्राउ

धनुषा— घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिने जनकपुरधाम उपमहानगरका एक वडाध्यक्ष, सचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–८ घर भएका एकजना सेवाग्राहीसँग उनको वडा नम्बर २४ स्थित जग्गाको घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:४५
Weather Update