
काठमाडौं— शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले संसद्मा अनुपस्थित सांसदको नाम सुनाउँदै थिए । अनुपस्थित सांसदको सूचीमा हत्या आरोपित सांसद लक्ष्मी महतो कोइरीको नामसमेत समावेश थियो । सांसद कोइरी बिरामी भएको सूचना सभामुख घिमिरेले प्रतिनिधि सभा बैठकमा सुनाएपछि सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच चर्काचर्की नै भयो ।
१० भन्दा बढी पटक संसद् बैठकमा अनुपस्थित सांसदकोबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भएकाले बैठकमा उपस्थित हुन नसकेको बताएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय जनमोर्चाका सांसदहरूले आपत्ति जनाए ।
कांग्रेस सांसद रमेश लेखकले ‘बिरामी’ शब्द रेकर्डबाट हटाउन माग गरे । त्यसपछि रास्वपा सभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कोइरी बिरामी नभएको र भारतमा रहेको दाबी गर्दै अभियुक्तलाई जोगाउने प्रयास नगर्न सभामुखको ध्यानाकर्षण गराए । तर, सभामुख घिमिरेले कांग्रेस सांसद लेखकको मागअनुसार कोइरी ‘बिरामी’ भएर बैठकमा अनुपस्थित भएको रेकर्डबाट हटाउन रुलिङ गरेनन् । त्यसपछि सांसदहरूले उठेर विरोध जनाए । केहीबेर संसद् बैठक स्थगित पनि भयो ।
जानकारी बिना १० दिनसम्म नियमित संसद् बैठकमा उपस्थित नभए सांसदको पद स्वतः पदमुक्त हुने व्यवस्था छ । पक्राउ पर्ने डरले सांसद कोइरी बैठकमा उपस्थित भएका छैनन् । त्यसैले कोइरीले केही दिन आफू बिरामी भएका कारण उपस्थित हुन नसकेको भन्ने पत्र संसद् सचिवालयमा पठाएका थिए ।
सोहीअनुसार सभामुख घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका हुन् । तर, कोइरी बिरामी नभएर फरार भएको भन्दै सांसदहरूले आपत्ति जनाएपछि सभामुख घिमिरे दबाबमा परे । दबाबपछि कोइरीलाई अर्को अधिवेशनमा भने कारबाही गर्न सभामुख घिमिरे मञ्जुर भए । त्यसपछि हत्या आरोपित कोइरीको बिरामी बिदा सदनबाट अस्वीकृत भयो ।
सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिकको हत्या गरेको आरोप कोइरीमाथि छ । अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको छ । तर, प्रहरीले उनलाई खोजिरहेको बताउँछ ।
गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट नेकपा एमालेबाट उम्मेदवार बनेदेखि नै कोइरी चर्चामा छन् । फरार सांसद कोइरीलाई एमालेले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिससमेत गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) छोडेर प्रतिनिधि सभा निर्वाचनको मनोनयनको अघिल्लो दिन मात्र कोइरी एमाले प्रवेश गरेका हुन् ।
२०७२ सालमा मधेस आन्दोलन चलिरहेको थियो । प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिकलाई २५ भदौ ०७२ मा एम्बुलेन्समा राखेर उपचारका लागि जनकपुर लगिँदै थियो । बिकलाई एक्लै पारेर आन्दोलनकारीहरूले जलेश्वर नगरपालिका–२ स्थित हाटबजारमा कुटपिट गरेका थिए । तर, महोत्तरी गाउँपालिकाको सोनउखरामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले निर्घात कुटपिट गर्दा बिकको ज्यान गएको थियो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत थिए असई बिक । बिक हत्या घटनाका मुख्य आरोपित हुन् सांसद कोइरी ।
थमन हत्या प्रकरणमा २८ जनाविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको छ । तीमध्ये केही सजाय भुक्तान गरिरहेका छन् भने केही अझै फरार छन् । १९ जनाको सम्पत्ति रोक्का छ ।
असई विक हत्या अभियोग लागेका रामशंकर मिश्र (शाहीजी), सुरेश पाण्डेय र मधेस प्रदेशका पूर्वसामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सामान्य तारेखमा रिहा भइसकेका छन् । हत्या अभियोग लागेका मिश्र जलेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन् भने पाण्डेय मधेस केन्द्रित दलका नेता ।
प्रहरीको फरार सूचीमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवारी दिन्छन्, विजयी हुन्छन् अनि संसद् भवनमा शपथसमेत लिन्छन् । तर, आरोपितलाई प्रहरीले देख्दैन, पक्राउ गर्दैन । असई बिकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् सांसद कोइरी ।
बिक हत्या घटनामा जिल्ला अदालत महोत्तरीले २ असोज २०७६ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको हो । जनकपुर उच्च अदालतले १९ मंसिर ०७७ मा जिल्लाको आदेश उल्ट्यायो र कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता कानुनको नजरमा फरार कोइरी कानुन निर्माण गर्ने थलोमै छन् । यसअघि सांसदको शपथ ग्रहण कार्यक्रममा कोइरीलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको भनियो, तर पनि उनी पक्राउ परेनन् ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतले दोषी ठहर गरेका नेपाली कांग्रेसबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको पद निलम्बनमा छ । तर, कोइरीलाई संघीय संसद सचिवालयले निलम्बन गरेको छैन । प्रहरी प्रधान कार्यालयले कोइरीलाई नियन्त्रणमा लिन सचिवालयलाई पत्र लेखेर सहयोग मागे पनि उनलाई निलम्बन गर्न पत्र नै पठाएको छैन ।
जघन्य अपराधमा मुछिएका व्यक्तिलाई नै टिकट दिने र जनताले समेत उनैलाई जिताउने परिपाटी नेपालमा नौलो होइन । यसअघि पनि विभिन्न अपराधमा मुछिएका व्यक्ति निर्वाचित भएर संसद् छिरेका छन्, मन्त्री भएका छन् ।
पटकपटक प्रहरीको आँखा छल्दै आएका एमाले सांसद कोइरीले वारेसमार्फत प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए र निर्वाचित भएको प्रमाणपत्र पनि वारेसमार्फत नै लिएका हुन् । कोइरीले नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई पराजित गरेका हुन् ।
को हुन् कोइरी ?
कोइरी ०५४ को स्थानीय निकायको निर्वाचनमा स्वतन्त्रबाट महोत्तरीको तत्कालीन निगौल गाविसको अध्यक्ष पदमा विजयी भए । उनले इँटाभट्टासहित विभिन्न व्यवसायमा लगानी गरेका छन् । कोइरीको राजनीतिक पृष्ठभूमि भने कांग्रेस हो । १० कक्षामा पढ्दा उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएका थिए । उनको पढाइ पनि १० कक्षासम्म मात्रै हो ।
०५४ सालको निर्वाचनमा उनले निगौल गाविस अध्यक्षमा कांग्रेसबाट टिकटको अपेक्षा राखेका थिए । तर, त्यतिबेला पार्टीले टिकट नदिँदा स्वतन्त्रबाट उम्मेदवार बनेर उनी निगौल गाविसको अध्यक्षमा विजयी बनेका थिए ।
०७४ को स्थानीय तह निर्वाचनमा कोइरीका छोरा दीपेन्द्र महतो नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई हराएर गौशाला नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । आफ्नै छोरा प्रमुख भएका कारण उनलाई महोत्तरी क्षेत्र नं १ बाट चुनाव जित्न यसपटक सहज भएको स्थानीयको बुझाइ छ ।
कोइरीलाई पक्राउको डर छ । तर, त्यति हुँदाहुँदै पनि प्रहरी प्रशासन उनलाई पक्राउ गर्न पछि हटिरहेको छ । यसले कानुनी राज्यको खिल्ली उडाएको छ ।
तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलेसमेत एमाले सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए । तर, गृहमन्त्रीको निर्देशनसमेत प्रहरीले टेरेन । फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि पक्राउ गर्न नसकेको आरोप खेपेका थिए तत्कालीन गृहमन्त्री लामिछानेले ।
के भन्छ एमाले ?
नेकपा एमाले सांसद रघुजी पन्त पार्टी कोइरीलाई लुकाउने पक्षमा नरहेको बताउँछन् । कोइरी पक्राउ नपर्नुको दोष उनले सरकारलाई नै दिए । ‘सरकारले पक्राउ गर्न सक्तैन । उसैले तमासा देखाउँछ’, उनले भने ।
प्रहरी भन्छ– खोजी भइरहेको छ
प्रहरी प्रशासन भने कोइरीको खोजी गरिरहेको दाबी गर्छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सांसद कोइरीलाई पक्राउ गर्न टोली परिचालन भइसकेको छ । ‘उहाँ (सांसद कोइरी)लाई पक्राउ गर्न हामीले टोलीसमेत खटाइसकेका छौँ । मातहतका सबै निकायलाई समेत पक्राउको लागि निर्देशन दिइसकेका छौँ, फेला नपरेरै हो पक्राउ नपर्नुभएको,’ उच्च स्रोतले भन्यो ।
कहाँ छन् त कोइरी ?
पूर्वउपप्रधान तथा गृहमन्त्री लामछिानेले सांसद कोइरी भारतमा लुकेर बसेको दाबी गरेका छन् । उनले कोइरी भारतमै रहेको र पक्राउको लागि प्रहरीलाई सहयोग गर्न आफू तयार रहेको बताएका हुन् ।
तर, स्रोतका अनुसार कोइरी काठमाडौंमै छन् । उनलाई पक्राउ गर्न सरकार र प्रहरी प्रशासनले चासो नदिएको हो । ‘सरकार पनि सांसद कोइरीलाई पक्राउ गर्नुपर्छ भन्नेमा छैन । प्रमुख प्रतिपक्षी दलका सांसद कोइरीलाई सरकारको कडा निर्देशनबिना प्रहरीले पनि पक्राउ गर्ने आँट गर्दैन,’ स्रोतले भन्यो ।