
काठमाडौं— सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो।
आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो।
सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्यूनतम् साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरुले यस छलफलबाट न्यूनतम् साझा कार्यक्रम बारे निर्णय गर्ने बुझिएको छ। जसअनुसार प्रधानमन्त्री ओली र सभापति देउवाबीच न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगन थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको छ।
साथै आजको बैठकले आम जनतामा रहेको निराशा चिर्ने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ।
कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।













