News Griha :: न्यूजगृह
कांग्रेस–एमाले शीर्ष नेताहरूको बैठकले के निर्णय गर्‍यो?  
फाइल तस्बिर।

काठमाडौं— प्रमुख सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। नेताहरूका अनुसार छलफलमा सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेका थिए। एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी थिए।

स्रोतका अनुसार भेटमा कांग्रेस सभापति देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन प्रस्ताव गरेका थिए। त्यसमा प्रधानमन्त्री ओली पनि सहमत छन्।

त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी दलहरुको बैठक बोलाउने छन्। कांग्रेस र एमालेबीच सातबुँदे सहमति भएको थियो।

त्यही सहमति अनुसार कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली असार ३० मा प्रधानमन्त्री नियुक्त भए। दुई दलको बहुमत भएपनि जसपा, लोसपा र नाउपालाई पनि सरकारमै सहभागी गराइएको छ भने जनमत पार्टीको पनि समर्थन छ।तर सरकार बनेको दुई महिना भइसक्दा पनि न्यूनतम् साझा कार्यक्रम बनेको छैन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २०:२२
Weather Update