काठमाडौं— नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलगायत प्रहरी अधिकारीले दायर गरेको रिटमा दोस्रो सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो।
ज्ञवालीसहित पाँच प्रहरी अधिकृतहरूले भदौ १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय किताबखानालाई विपक्षी बनाउँदै रिट दर्ता गरेका थिए।
उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले भदौ १३ गते कारण देखाऊ आदेशसहित लिखित जवाफ मगाएको थियो। न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाउने आदेश गरेको हो।
विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका हुन्। बिहीबारको सुनुवाइले अन्तरिम आदेश जारी हुने वा नहुनेबारे निर्णय लिने छ।