काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेको बताए।
देशको अवस्था चुनौतीपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने उनले बताए। एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भए पनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको उनले बताए।
यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न उनले कर्मचारीहरूलाई आग्रह गरे।
‘..प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ। त्यसमा हामी सबै लाग्नुछ। यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान्। एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान्। तर एउटा कुरामा यो बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन। त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो। खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन,’ उनले भने।