News Griha :: न्यूजगृह
गण्डकीमा मन्त्री मनाङे असन्तुष्ट, राजीनामा दिने धम्की 

पोखरा— गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए।

कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने बताएका हुन्। उनलाई छैटौँ वरीयतामा राखिएको छ। यसअघि ५ जना मन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए।

मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गएपनि कम प्रभाव भएको मन्त्रालय र वरीयता पनि घटाइएको भन्दै असन्तुष्टि जनाएका थिए। मनाङे कार्यक्रमस्थलबाट पनि रिसाउँदै निस्किएका थिए।

मन्त्री मनाङेले मन्त्रालयबारे छलफल गर्न स्वकीय सचिव सन्तोष अधिकारीलाई मुख्यमन्त्री कार्यालय पठाएका छन्। वन मन्त्रालयका सचिवसमेत छलफलमै रहेको जानकारी दिए। मनाङे मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाशबहादुर केसीले पाएका छन्।

वन मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्ट मनाङे पदभार नै ग्रहण गर्न गएका छैनन्। गण्डकीमा ४ जना एमालेका मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री पाण्डेले सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:३२
Weather Update