News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीका माग गम्भीर छन्, तलबको आकार बढाउनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सामुदायिक विद्यालयका कर्मचारीले उठाएका पेसागत माग गम्भीर रहेकाले राज्यले हल गर्नुपर्ने बताएका छन् ।

शनिबार (१६ वैशाख) नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले  आर्थिक वर्ष २०८०/८१ को बजेटका सन्दर्भमा ललितपुरको लगनखेलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमा बोल्दै सासंद शर्माले विद्यालय कर्मचारीमा माग गम्भीर रहेको बताएका हुन् । उनले भने,‘सामुदायिक विद्यालय कर्मचारीका माग गम्भीर छन् । राज्यले सम्बोधन गर्नुपर्छ ।’

महामन्त्री शर्माले विद्यालय कर्मचारीका मागका विषयमा संसद्मा कुरा उठाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने बताए । उनले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ध्यानाकर्षण गराइसकेको पनि बताए ।

‘तपाईंहरूको प्रतिनिधिको रूपमा गम्भीरताका साथ संसद्मा राख्नेछु । तपाईंहरूको विषयमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनेछु । अर्थमन्त्रीलाई केही दिन अगाडि ध्यानाकर्षण गराइसकेको छु,’ उनले भने ।

अहिले अर्थतन्त्रको जटिलताको बेलामा विद्यालय कर्मचारीले उठाएका रकमसम्बन्धी माग तत्काल पूरा हुन्छन् भन्ने नभएको बताउँदै सांसद शर्माले दरबन्दीको व्यवस्थापनको टुंगो गरेर अहिलेभन्दा बढी रकम बढाएर जानुपर्ने बताए ।

उनले भने,‘अहिले अर्थतन्त्रको जटिलताको बेलामा अहिले यी सबै कुराहरू (मागहरू) पूरा हुन्छन् भन्ने होइन । दरबन्दी व्यवस्थापनको टुंगो गरेर एउटा निश्चित रकमको सन्दर्भमा पहिलाभन्दा बढाएर जाने गरेर तपाईंहरूका तलबलाई हामीले कम्तीमा चैं २/३ वर्ष पछि धेरैथोरै आकारमा लैजान सक्छौं । तपाईंहरूले २/३ वर्ष धैर्य राख्नुपर्छ । राख्न सक्नुहुन्छ । तपाईंहरूको तलब बढाउने दिशामा राज्य जानैपर्छ ।’

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०८:१३
Weather Update