News Griha :: न्यूजगृह
आज थप चार देशका प्रस्तावित राजदूतको सुनुवाइ हुँदै

काठमाडौं— संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ आज पनि जारी राख्ने भएको छ। आजको बैठकमा इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूलाई सुनुवाइका लागि बोलाइएको समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन्।

इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूत नियुक्त गर्न सरकारले सिफारिस गरेको छ। समितिमा तिमिल्सिना र पण्डितविरुद्ध उजुरी परेको छ।

समितिका सदस्यहरूले उजुरीमाथि प्रश्न गर्ने र उनीहरूको जवाफ तथा कार्ययोजनामा छलफल गर्ने छन्। समितिले आइतबार चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डाक्टर शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको सुनुवाइ गरेको थियो।

सरकारले गत साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। तर, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरूको नाम मात्र सार्वजनिक भएको थियो।

प्रस्तावित सबै राजदूतहरूको सुनुवाइ आठ दिनभित्र सम्पन्न गर्ने  समितिको योजना छ। सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०८:३८
Weather Update