हरिसिद्धीको क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं— ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले आईसीयूमा राखेर उपचाररत तामाङको आइतबार बिहान मृत्यु भएको जानकारी दिए।
उनका अनुसार थाइराइडको क्यान्सर उपचारका लागि उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्। उनले अस्पतालबाट हाम फाल्नुको कारण खुलेको छैन।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १३:१४