
नेपालगञ्ज— नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको सरकार भएको आरोप लगाएका छन्। अध्यक्ष दाहालले वर्तमान सरकार कांग्रेस र एमालेको नभई बाहिरको शक्तिबाट बनेको बताए।
आइतबार नेपालगञ्जमा पत्रकारहरुसँग अध्यक्ष दाहालले भने, ‘यो सरकार कसरी बनेको रैछ त्यो त केपीजी र शेरबहादुरजीले आफैं ओकलिरहनु भएको छ। यो सरकार असंवैधानिक हो।’
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका थिए। सभापति देउवाले थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताएका हुन्।
माओवादी अध्यक्ष दाहालले पार्टीको नेतृत्व टिको लगाएर दिने र लिने पद नभएको बताए। पार्टी नेतृत्व आन्दोलन, इतिहासको मूल्याङ्कनबाट तय गरिने कुरा उनको भनाइ छ।
पार्टीको प्रशिक्षणका क्रममा नेपालगञ्ज आइपुगेका दाहालले सधैँ आफू नेतृत्वमा रहरले भन्दा पनि आफूलाई नेतृत्वबाट उम्किने छुट नभएको स्पष्ट पारे।
‘जनभावनाले गर्दा मैले नेतृत्व गरिरहेको छु। अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु,’ अध्यक्ष दाहालले भने। उनले माओवादी फुट्दैछ भन्ने हल्ला निराधार रहेको बताए।
उनले अहिले पार्टीलाई सुदृढ गर्दै समाजवादी मोर्चालाई बलियो बनाएर विचार मिल्नेसँग एकता गर्ने जिकिर गरे।