News Griha :: न्यूजगृह
स्वामित्व हस्तान्तरण नहुँदा ‘धनगढी सभागृह’ प्रयोगविहीन

कैलाली— धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो। 

दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा सात सय जना क्षमताको एउटा मुख्य हल, दुई सय जना क्षमताको कार्यक्रम कक्ष, एक सय सवारीसाधन अटाउने क्षमताको पार्किङ निर्माण गरिएको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिए।

उनका अनुसार सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१ हजारको लागतमा सभागृह निर्माण गरिएको हो। २०७५ माघदेखि निर्माण सुरु भएको सभागृह २०७९ असारमा निर्माण सम्पन्न भएको थियो। धनगढी उपमहानगरले उपलब्ध गराएको एक बिघा जग्गामा निर्माण भएको उक्त सभागृहमा रङरोगन, विद्युत् जडानलगायत काम भइसकेका छन्। 'निर्माण सम्पन्नपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी थियो,' सूचना अधिकारी कलौनीले भने, 'उपमहानगरले फर्निचर तथा साउण्डसिस्टम जडान नभएको भन्दै बुझ्न मानेन। त्यसैले अहिलेसम्म हस्तान्तरण हुनसकेको छैन।'

साउण्डसिस्टम जडानका लागि पटक–पटक सङ्घीय सरकारलाई बजेट माग गर्दा पनि सुनवाइ नभएको उनको भनाइ छ। 'अहिले रु १५ लाख बजेट आएको छ। त्यसले पुग्दैन। साउण्डसिस्टम जडानका लागि न्यूनतम ८० लाखदेखि एक करोडको हाराहारीमा बजेट आवश्यक पर्छ।'

धनगढीमा हुने सभा, गोष्ठी, बैठक सेमिनारजस्ता ठूला कार्यक्रम गर्ने उद्देश्यले बनेको उक्त सभागृह सञ्चालनमा आउन नसक्दा सरकारी कार्यालयले त्यस्ता कार्यक्रम होटल, पार्टीप्यालेसमा महँगो भाडा तिरेर सञ्चालन गरिरहेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०८:२०
विचार/ब्लग
Weather Update