News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने

काठमाडौं— महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका कारण रोकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। साउन २३ देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा भदौ ७ देखि स्थगित भएको थियो।

बैठक दुई महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आइतबारनै सकिने नेताहरूले जनाएका छन्। थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको एक्जिट पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ।

१५औं महाधिवेशनको कार्यतालिका अर्को बैठकले निर्णय लिने र संविधान संशोधन मस्यौदा समिति बनाउने शीर्ष नेतामा मोटामोटी सहमति बनेको छ।

शीर्ष तहमा टुङ्गिन बाँकी रहेका विषयमा सहमति खोज्न केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ। केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ। केन्द्रीय समितिमा बोल्न बाँकी पाँच जना मात्रै छन्।

सभापति शेरबहादुर देउवा, दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले धारणा राखेपछि निर्णयहरू पारित गर्दै बैठक सकिनेछ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०८:०३
Weather Update