
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताएका हुन्।
उनले भने, 'प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छ र ? खुट्टा कमाउने ? मैले त डराउनुपर्ने केही छैन्।'
उनले प्रचण्डले श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर त्यो चर्को स्वरमा भनेको उल्लेख गर्दै भने, 'म भन्न चाहन्छु राम्ररी सिक। बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने ? नेपाल कुनै देशको फोटोकपी मेसिन होइन। यहाँ आफ्नै इतिहास र परम्परा छ। डेमोक्रेसी हामीले लडेर ल्याएका हौँ। अहिलेको संविधान हामीले लेखेको हो। म त्यो हैसियत राख्छु। यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो। जो यहाँ भैरहेको प्रणाली र डेमोक्रेसीको विरुद्धमा लड्यो अनि उसैका ठूला कुरा।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए। उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए।