
काठमाडौं— सरकारले काठमाडौं उपत्यकाका तीनवटा कारागारबाट १ सय ५० जना कैदीलाई नुवाकोटमा निमार्ण गरिएको केन्द्रीय कारागारमा स्थानान्तरण गरेको छ।
हत्या, बलात्कार, लागूऔषध, ज्यानमार्ने उद्योगलगायत गम्भीर किसिमका अपराधमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका डेढ सय जना कैदीलाई नुवाकोटमा निर्माण भएको केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको हो।
नुवाकोटमा निर्माण सम्पन्न भइसकेका भवनमा कैदीबन्दी स्थानान्तरण गर्ने योजनाअनुसार पहिलो चरणमा डेढ सय कैदी उपत्यकाबाट स्थानान्तरण गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ।
निर्माण सम्पन्न भइसकेका ब्लकहरूमा १ हजार ३ सय ७० जना कैदी राख्न मिल्ने र अहिलेलाई डेढ सय जना स्थानान्तरण गरिसकिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले बताए।
उनका अनुसार निर्माण सम्पन्न भइसकेका संरचनामा काठमाडौं उपत्यकाका विभिन्न कारागार र चाप हेरेर अरु कारागारबाट कैदी स्थानान्तरण गरिने र पहिलो प्राथमिकतामा काठमाडौंको चापलाई मध्यनजर गरेर स्थानान्तरण गरिने छ। जसअन्तर्गत काठमाडौंका कारागारबाट अरु थप ५ सय कैदी पनि लैजाने योजना छ।
नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प (चण्डीपोखरी) क्षेत्रमा सरकारले केन्द्रीय कारागार भवन निर्माण गरिरहेको छ। करिब ७ अर्ब रुपैयाँ लागतमा कारागार संरचना निर्माण गरिने गुरुयोजना बनेकोमा हालसम्म दोस्रो चरणसम्मको काम मात्रै सम्पन्न भएको छ।
विभागका निर्देशक कमल पाण्डेका अनुसार करिब २ अर्ब रुपैयाँ लागतका संरचना अन्तर्गत १ हजार ३ सय ७० जना क्षमताका संरचना निर्माण भएको बताए। त्यसमध्ये निर्माण सम्पन्न भएको ब्लकमा उपत्यकाका तीनवटा कारागारबाट डेढ सयको सङ्ख्यामा कैदीलाई स्थानान्तरण गरिएको हो।
विभागका अनुसार महिलाका लागि एउटा र पुरुषका लागि ४ वटा ब्लक तयार भएको र त्यसमै कैदी राख्न काठमाडौंबाट कसुर, सजाय अवधि र कसुरमा संलग्न व्यक्तिका गतिविधिलाई मूल्यांकन गरेर स्थानान्तरण हुने कैदीको सङ्ख्या तय गरिएको विभागले जनाएको छ।
२०७० चैत २० को मन्त्रिपरिषद् बैठकले उपत्यकाका कारागारमा कैदीबन्दीको चाप कम गर्न भन्दै विदुरमा कारागार निर्माण गरी त्यसलाई नै केन्द्रीय कारागारका रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। सुन्धारा (जगन्नाथदेवल) स्थित केन्द्रीय कारागार परिसरका महिला र पुरुष भवनमा कैदीबन्दीको सङ्ख्या ३ हजार ६ सयभन्दा बढी छ।
त्यसमध्ये अदालतबाट मुद्दाको अन्तिम किनारा लागेर सजाय भुक्तान गरिरहेका कैदीको सङ्ख्या २ हजार भन्दा बढी छ। डिल्लीबजारमा कूल कैदीबन्दी करिब ७ सय ५० रहेकोमा मुद्दाको अन्तिम फैसला भई सजाय भुक्तानरत सङ्ख्या ३ हजार ४ सय ५० छ। यसैगरी ललितपुरको नख्खु कारागारमा कूल कैदीबन्दी १ हजार ५ सय ५० जना रहेकोमा मुद्दाको अन्तिम किनारा लागेर सजाय कटाइरहेका सङ्ख्या ८ सय ३३ छ।