News Griha :: न्यूजगृह
सञ्चारमन्त्री गुरुङको दाबी— ‘कांग्रेस–एमाले सत्ता समीकरण ०८४ सम्मै जान्छ’
फाइल तस्बिर।

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने बताएका छन्।

अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले समीकरण भत्किने कारण नभएको बताएका हुन्।

पोखरामा शनिबार बिहान पत्रकारसँग उनले भने, ‘हाम्रो सरकार के कारणले ढल्छ ? सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन। त्यसैले सरकार ढल्ने कुरै छैन।’

उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्नेबेलासम्म केही नहुने बताए।

उनीहरूबीच नै फाटो आउनसक्छ कि? भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ सङ्केत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकाले त्यस्तो नहुने दाबी गरे।

अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको सङ्क्रमणकालीन न्यायको विषय पनि टुङ्ग्याएको भन्दै यसले पनि सरकार २०८४ सम्मै टिक्ने सङ्केत गरेको बताए।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १०:३३
Weather Update