News Griha :: न्यूजगृह
ढोरपाटन शिकार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण
ढोरपाटन शिकार आरक्ष। फाइल तस्बिर

म्याग्दी— पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ।

१ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ।

आरक्षको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा १८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ। जग्गाधनी पुर्जा भएकै घरछेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम बढेको हो।

आरक्षको जग्गा बर्सेनि अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास भएको छैन। आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीले ३४ स्थानमा ३ सय ११ घरधुरीले १ सय ८५ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण गरेका बताए।

‘शिकार आरक्षमा अतिक्रमण मुख्य चुनौती बनेको छ,’ उनले भने, ‘अतिक्रमण पहिचान गरी खाली गराउन नेपाल सरकारका विभिन्न निकाय र सरोकारवालाहरूसँग पहल गरेका छौँ।’

वन तथा खर्क क्षेत्रमा बसोबास र खेतीपातीका लागि अतिक्रमण भएको छ। रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा र काँक्री, म्याग्दीको जलजला र गुर्जाघाट तथा बागलुङको छेन्तुङ, स्यालपाखे, नवीलगायत गाउँमा पनि अतिक्रमण छ।

अतिक्रमणमा परेको केही जमिनमा खेती लगाइएको छ भने केही जमिन कम्पाउन्ड घेरेर मात्रै राखेका छन्। आरक्षको तथ्याङ्कमा २०४७ सालदेखि सामान्य अतिक्रमण सुरु भएको देखिन्छ।

सशस्त्र द्वन्द्वको समयमा यो क्रम बढेको हो। सरकारले २०३९ सालमा शिकार आरक्ष स्थापना गरेको थियो। अतिक्रमणसँगै संरक्षण अभावमा ढोरपाटनको रुद्रताललगायत केही संरचना लोप हुने अवस्थामा छन्। 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १०:२२
Weather Update