
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्।
उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन्। बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए।
संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेपछि बर्खास्त गर्नुपरेको प्रदेश सभापति विष्टले जानकारी दिएका छन्।
बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो। ७२ घण्टाभित्र स्पष्टीकरण दिन भनिएकामा उनले जवाफ पनि दिएका थिए।
तर स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले बिहीबारदेखि लागू हुने गरी प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त विष्टले बताएका छन्।
प्रदेश महामन्त्रीबाट बर्खास्त गरिएका बाहुनले भने प्रदेश सभापतिले व्यक्तिगत सम्बन्धलाई लिएर कारबाही गरेको बताएका छन्। नेतृत्वलाई खुसी पार्न नसक्दा महामन्त्रीबाट हटाइएको उनले बताएका छन्।