
वासिङ्टन— अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ ।
बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न आग्रह गरेका थिए ।
सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले शुक्रबार राति ११ः३० बजेतिर ‘आक्रमण’ बारे फोन आएपछि अधिकारीहरू निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन् ।
आठदेखि ४० वर्ष उमेर समूहका ती पीडित परिवार घरको अगाडिको ढोकादेखि भित्री शयनकक्षसम्म मृत भेटिएका थिए । घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरीरले छेकेर बचाएको तर, महिलाहरू सुतेको अवस्थामा मृत फेला परेका थिए । क्यापर्सले एबीसीको ह्युस्टन स्टेशन केटीआरकेसँग भने, ‘मेरो विचारमा, उनीहरू वास्तवमा बच्चाहरूको हेरचाह गर्न र उनीहरूलाई जीवित राख्न प्रयास गरिरहेका थिए ।’
उनले भने, ‘सबै पीडितलाई खासगरी टाउकोलाई बढी लक्षित गरी घाँटीदेखि खुट्टासम्म गोली हानिएको थियो ।
आक्रमणकारीले रक्सी पिइरहेका थिए र पीडित परिवारको अनुरोधपछि ‘म मेरो अगाडिको आँगनमा जे गर्न चाहन्छु त्यही गर्नसक्छु’ भनेको एक प्रत्यक्षदर्शीलाई उद्धृत गरी केटीआरकेसँग क्यापर्सले भने ।
क्यापर्सले पत्रकारहरूसँग भने, ‘आक्रमणको समय उक्त घरमा १० जना रहेका थिए । उनीहरू होन्डुरसबाट टेक्सासमा आई बसोबास गर्दै आएका थिए ।’
उनले ती बन्दुकधारी को हुन् भन्ने कुरा आफूलाई थाहा भएको र उनी मेक्सिकोका भएको दाबी गरेका छन् ।
स्थानीय अभियोजकको कार्यालयले पछि आफ्नो फेसबुक पेजमा आक्रमणकारी उक्त क्षेत्रबाट भागेकोे विश्वास गरिएको छ । पीडित परिवारका अन्य सदस्यहरूलाई आक्रमणकारी पक्राउ नपरेसम्म घटनास्थल वरपरका बासिन्दालाई घरभित्रै रहन भनिएको छ ।













