News Griha :: न्यूजगृह
प्रमाण भएरनै रवि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो: गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले ९ घण्टासम्म बयान दिनुपरेको बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसद्मा सङ्घर्ष गरेर समिति बनाइयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन्।

उनले भने, 'केही दिनदेखि संसद्मा केही साथीहरूले प्रमाण खोई? प्रमाण खोई? भनेर खोजिराखेको पाएँ। त्यत्रो तथ्य र प्रमाणहरू भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसद्मा सङ्घर्ष गरेर समिति बनाइयो।'

थापाले समितिमा आफूहरूले प्रमाण दिएको उल्लेख गर्दै टीओआरमा कम्पनीको नाम लेख्न लगाएको बताएका छन्।

उनले भने, 'हामीसँग भएका तथ्य र प्रमाणहरू समितिमा पुगेनन् होला? हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला? अनि यसमा ख्याल गर्नुभएन? ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होइन होला?’

सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउदैन थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए। 

उनले भने, ‘बरु, साथीहरू झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ। त्यसैले म त फैसला कुरेर बसिरहेको छु। तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु।’
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:२६
Weather Update