
धनगढी— परराष्ट्रमन्त्री आरजु राणाले कांग्रेस–एमालेको वर्तमान सरकार २०८४ सम्मै रहने बताएकी छन्।
धनगढीमा बिहीबार बिहान पत्रकारहरूसँगको कुराकानीमा मन्त्री राणाले विशेष परिस्थितिका कारण दुई पार्टी एक ठाउँमा आएको बताएकी हुन्।
‘देशको सङ्कट टार्न तथा विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्न कांगेस एमाले एक ठाउँमा आएका हुन्,’ मन्त्री राणाले भनिन्, ‘विशेष विशेष परिस्थितिमा कांग्रेस–एमाले एक ठाउँमा आएको इतिहास छ।’
दुई ठूला पार्टी मिलेर वर्षौंदेखि थाँती रहेको टीआरसी अघि बढेको उनले बताइन् ।
अन्तर्राष्ट्रिय समुदाय नेपाललाई सहयोग गर्न सकारात्मक रहेको र नेपालप्रति राम्रो धारणा रहेको बताउँदै उनले संविधान संशोधन गर्नु पनि अहिलेको सरकारको उद्देश्य रहेको बताइन्।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हालै महिला प्रधानमन्त्री बनाउने इच्छा रहेको टिप्पणीप्रति उनले कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको प्रतिक्रिया दिँदै आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताइन्। ‘ओलीले आफ्नै दलको कुनै महिलातर्फ सङ्केत गर्नु भएको होला,’ उनले भनिन्।