
काठमाडौं— उमेरहदका कारण अवकाश नगर्न माग गर्दै प्रहरीका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जना उच्च अधिकृतहरूले सर्वोच्च अदालत गएका छन्। उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
एआईजी ज्ञवाली सहितका अधिकृतहरूको रिट दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए। दर्जागत उमेरका कारण अवकाश रोक्न माग गरेर रिट हाल्नेमा एआईजी ज्ञवालीसहित डीआईजीहरू केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेल छन्। त्यस्तै इन्स्पेक्टर नागेन्द्र ठाकुरले पनि रिट दायर गरेका हुन्।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन्। श्यामलाल ज्ञवाली ५६ वर्षे उमेरहद पुरा गरेर भदौ २५ मा अवकाशमा जाँदै छन्।
डीआईजीहरू राजेश बास्तोला, केदार ढकाल र यज्ञ विनोद पोखरेल पनि छोटो समयमा अवकाशमा जान लागेका हुन्। अर्का एआईजी रामदत्त जोशी असोज १६ मा उमेरहदका कारण अवकाश हुन लागेका छन्।
यसअघि एसएसपी जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए। न्यायाधीश हरि फुयालले तत्काल ३० वर्षे कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका छन्। त्यसबारे असोज १० मा सुनुवाइ हुँदै छ।
सशस्त्रका डीआईजी अभि कुमार खत्रीसहतिका १२ जनाले पनि ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेका छन्। सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको रिटमा न्यायाधीश सारङ्गा सुवेदीले कारण देखाऊ आदेश जारी गरेकी छन्।













